Logo

११ भदौ, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यही भदौ १३ गतेका लागि तय गरेको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ। अब बैठक भदौ १९ गते बस्ने पार्टीले जनाएको छ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे बस्ने गरी तय भएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार विधान संशोधनसम्बन्धी सुझाव अझै संकलन भइरहेको हुँदा बैठक सर्ने निर्णय गरिएको हो।

गौतमले भने, “विधान संशोधनमा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने तयारी थियो। तर सुझाव आउने क्रम जारी रहेकाले बैठक स्थगित गर्नुपरेको हो। अब भदौ १९ गते बैठक बस्नेछ।”

एमालेले विधान संशोधन प्रस्तावमाथि सुझाव पठाउन मातहतका कमिटीलाई भदौ १० गतेसम्म समय दिएको छ। पार्टीको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने कार्यक्रम तय छ।

महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजक गरी जम्मा दुई हजार ३९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ।


सम्बन्धित समाचार