Logo

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन्।

उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई राजनीतिमा फर्काएपछि विद्या भण्डारीलाई पनि ढोका खुलेको बताए । बुधबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्याजीलाई ढोका खोलिदिएकै छ।’

संविधानले रोक्दैन

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधान वा कानुनले नरोक्ने तर्क गरे। उनले भने, ‘हाम्रो संविधान, ऐन वा कानुनले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको छैन, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन।

यो भनाइ नेकपा एमालेको पछिल्लो निर्णयसँग बाझिएको छ। एमालेले पूर्वराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। यद्यपि, प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कनु सामान्य भएको बताए । प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भण्डारीलाई पार्टी सदस्यता दिइएको बताए। तर, भण्डारीको चीन भ्रमणपछि भने यस विषयमा विवाद उत्पन्न भएको उनको भनाइ छ।


सम्बन्धित समाचार