१३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चीनसँग जोडिएका उत्तरी नाकाहरू तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका अवरुद्ध हुँदा देशको राजस्वमा ठूलो असर परेको भन्दै उनले सरकारको गम्भीरतामाथि प्रश्न उठाए । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले भने, ‘एउटा पहिरोका कारण वार्षिक २४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको उत्तरतर्फका दुवै नाका बन्द छन्। चाडपर्व नजिकिँदै गर्दा बजार भाउ आकासिने सम्भावना बढेको छ, तर सरकारले यसलाई सामान्य कामजस्तो लिएको छ।
सापकोटाले पहिरो हटाउन साधन र स्रोतको पूर्ण प्रयोग गरी नाकाहरू तत्काल खुलाउन माग गरेका छन्। यसका साथै, उनले उखु र दुग्ध किसानलाई दिइँदै आएको अनुदान कटौतीको पनि विरोध गर्दै उनीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे।















