१५ भदौ,वीरगञ्ज । वीरगञ्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि सरकारले नेपाली सेनासहितका स्वास्थ्य जनशक्ति खटाउने तयारी गरेको छ। शनिबार राति वीरगन्जस्थित नारायणी अस्पतालमा महामारीबाट प्रभावित बिरामीहरू भेटघाटपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन्।
गृहमन्त्री लेखकले महामारी नियन्त्रणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “नागरिकको जीवन बचाउन सरकारले कुनै कमी गर्न दिने छैन। आवश्यक औषधि, जनशक्ति र स्रोतसाधन तुरुन्त उपलब्ध गराइनेछ।”
उनका अनुसार सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति खटाइने छ भने थप जनशक्तिको आवश्यकता परेमा पनि तुरुन्त पठाइने व्यवस्था गरिनेछ।
“हैजा पूर्णरूपमा नियन्त्रित हुनुपर्छ,” भन्दै उनले अस्पताल प्रशासनलाई ढाडस दिँदै भने, “नागरिकको जीवन बचाउनका लागि जुनसुकै स्रोतसाधन प्रयोग गर्न सरकार तयार छ।”
गृहमन्त्री लेखकले नारायणी अस्पतालको इमरजेन्सी, आइसियु र जनरल वार्डमा उपचाररत बिरामीहरूसँग उपचारको अवस्था र औषधि उपलब्धताबारे जानकारी लिएका थिए। यस निरीक्षणमा कानुन मन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेश सांसद श्याम पटेल तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत अधिकारीहरूको पनि सहभागिता रहेको थियो।
नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासका अनुसार, हैजा संक्रमण देखिएको नौ दिनमा ३६८ जना बिरामी अस्पताल भर्ना भएका छन्। तीमध्ये ३१२ जना निको भई घर फर्किएका छन् भने हाल ५६ जना उपचाररत छन्। आइसियुमा रहेका पाँचमध्ये शनिबार मात्र तीन जनालाई डायलासिस गरिएको जानकारी उनले दिएका छन्।
गृहमन्त्री लेखकले महामारी फैलनुका कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्न विज्ञहरूसँगको परामर्शका आधारमा काम अघि बढाइने बताए।

















