१५ भदौ,वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका विरामीहरूसँग आज वीरगञ्जमा भेटघाट गरेका छन्। हिजो नारायणी अस्पतालको निरीक्षण गरेका मन्त्री लेखकले आज बिहान वीरगन्ज हेल्थ केयर र तराई अस्पतालमा पुगेर उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
गृहमन्त्री लेखकले दुबै अस्पतालका इमरजेन्सी, आइसियु तथा सामान्य वार्डमा रहेका झाडापखाला र हैजा संक्रमित बिरामीसँग प्रत्यक्ष कुराकानी गर्दै सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले महामारी नियन्त्रणका लागि सरकारले सतर्कता अपनाइसकेको र स्वास्थ्य तथा जनशक्ति संसाधनको व्यवस्था मिलाइएको पनि बताए। भेटघाटका क्रममा कानुन मन्त्री अजयकुमार चौरसियासहित अन्य अधिकारीहरूको समेत सहभागिता रहेको थियो।
जनस्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा हैजा संक्रमण १० औं दिनसम्म आइपुग्दा संक्रमितको संख्या १५९ पुगेको छ। तीमध्ये ११२ जना उपचारपछि निको भई घर फर्किएका छन् भने हाल विभिन्न अस्पतालमा ४७ जना बिरामी उपचाररत छन्।
जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार हैजा नियन्त्रणका लागि समुदायस्तरमा जनचेतना, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिनु अत्यावश्यक छ।















