१५ भदौ, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका दुई प्रधानमन्त्रीबीच आज थियानजिनमा भेटवार्ता भएको हो।
भेटमा सांस्कृतिक, कूटनीतिक, आर्थिक सहकार्य, तथा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री चिङले हालै नेपाल भ्रमण गरेका उपराष्ट्रपति भो थि आन सुआनको भ्रमणको स्मरण गर्दै, प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणको औपचारिक निमन्त्रणा गरेका थिए।
भेटका क्रममा प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रता संग्रामप्रति नेपालको ऐक्यबद्धता व्यक्त गर्दै, छोटो समयमै भियतनामले गरेको विकास समस्त विकासशील मुलुकहरूका लागि प्रेरक रहेको बताए।
प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराउँदै, विशेष गरी ऊर्जा क्षेत्रमा लगानी गर्न भियतनामी पक्षलाई आग्रह गरे। साथै, उनले समकक्षी चिङलाई पनि नेपाल भ्रमणको निमन्त्रणा प्रदान गरेका छन्।
उक्त भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरू, सांसदहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू समेत उपस्थित थिए।















