Logo

१६ भदौ,वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा बोलेको अडियो सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई पर्सा जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको छ।

पर्सा प्रहरीका अनुसार, बाराको कलैया घर भई हाल वीरगन्जको मुर्लीमा बस्दै आएकी साहलाई मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहको जाहेरीका आधारमा शनिबार पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले साहमाथि विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटा सूचना फैलाएको अभियोगमा अनुसन्धान भइरहेको जानकारी दिए।

के हो पुरा घटना?

शुक्रबार राति सामाजिक सञ्जालमा एक अडियो भाइरल भयो, जसमा एक महिला र मन्त्री प्रदीप यादवबीचको फोन संवाद थियो। अडियोमा महिलाले वीरगन्जमा फैलिएको हैजा र दूषित पानी वितरणको विषयमा मन्त्री यादवलाई कडा स्वरमा प्रश्न गरिरहेकी सुनिन्छ।

उनले भनिन्, “हैजाले मान्छे मरेका छन्, मेरो घरकै सदस्य आईसीयूमा छन्। तपाईं जनप्रतिनिधि भएर किन फोन उठाउनु हुन्न?“ साथै, उनले मन्त्रीलाई जिम्मेवारीमा लापरबाही गरेको आरोप लगाउँदै, “म तपाईंलाई छोड्दिनँ,“ भन्दै आक्रोश पोखेकी थिइन्।

अडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा साहको स्वर र प्रश्न उठाउने साहसको चर्चा भएको थियो, तर केही घन्टामै उनी पक्राउ परेपछि यो घटनाले थप राजनीतिक र सामाजिक बहस जन्माएको छ।

थप अनुसन्धान जारी

पक्राउ परेपछि प्रहरीले अदालतबाट तीन दिनको म्याद थप गरी साहमाथि अनुसन्धान जारी राखेको जनाएको छ। यसबीच, सामाजिक सञ्जालमा आम नागरिकको आवाज दबाउने प्रयास भएको भन्दै आलोचना समेत भइरहेको छ।

सरकार पक्षबाट यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

 


सम्बन्धित समाचार