Logo

१६ भदौ, काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिएको विषय आगामी विधान महाधिवेशनमा जोडदार रूपमा उठ्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले संविधानले कुनै पनि नागरिकलाई राजनीति गर्नबाट नरोकेको हुँदा कुनै पार्टीको विधानले पनि यसमा अवरोध गर्न नसक्ने तर्क गरे । पाण्डेले भने, ‘संविधानले राष्ट्रपतिलाई राजनीति नगर्नु भन्दैन। संविधानले नरोकेको कुरा कुनै पार्टीको विधानले रोक्न मिल्छ र ? उनले विद्या भण्डारीले एमालेको सदस्यता लिन खोज्दा कसैले अध्यक्ष नै बनिहाल्छिन् भन्ने डर मान्नुपर्ने कुनै कारण नरहेको बताए। उनले सदस्यताबाट कसैलाई पनि वञ्चित गर्न नमिल्ने र यो विषय विधान महाधिवेशनमा उठ्ने दाबी गरे।

उनले यो लडाइँ पार्टी फुटाउनका लागि नभई न्याय र वैधानिक अधिकारका लागि भएको स्पष्ट पारे। ‘यो लडाइँ तितो र असहज हुन सक्छ, तर हामी यो लडाइँ जित्छौँ,’ उनले भने। पाण्डेले पार्टी नेतृत्वले छिट्टै नै भण्डारीको सदस्यता नवीकरण गर्न बाध्य हुने विश्वास व्यक्त गरे।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ। पाण्डेका अनुसार, महाधिवेशनमा प्रतिनिधिहरूले आफ्नो अधिकार प्रयोग गर्दै यस विषयमा निर्णय लिनेछन् ।


सम्बन्धित समाचार