Logo

१६ भदौ, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् ।

यसै क्रममा, नागरिक उन्मुक्ति पार्टीका पूर्वनेता धनीराम चौधरीलाई जनमत पार्टीले आफ्नो आधिकारिक उम्मेदवार बनाउने घोषणा गरेको छ ।  यो निर्णयले मधेशकेन्द्रित दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको योजनामा धक्का पुगेको छ । मोर्चाले धनीरामलाई नै समर्थन गर्ने तयारी गरिरहेको थियो, तर जनमत पार्टीले उनलाई आफ्नो दलमा प्रवेश गराएर उम्मेदवार घोषणा गरेपछि मोर्चाका नेताहरू अन्योलमा परेका छन् ।

धनीराम चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले उपनिर्वाचनका लागि पार्टी दर्तामा चासो नदिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले रेशमलाल चौधरीको ‘बदमासी’ र पार्टीभित्रको ‘पारिवारिक कलह’का कारण आफू जनमत पार्टीमा प्रवेश गर्न बाध्य भएको बताए । उनले रुपन्देहीमा थारू र मधेशी समुदायको बाहुल्यता रहेको र यस क्षेत्रको राजनीति राम्ररी बुझेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले धनीराम चौधरी आफ्नो पार्टीको उम्मेदवार भएको पुष्टि गर्दै उनी थारू आन्दोलनका अगुवा भएको र उनको जित निश्चित भएको दाबी गरे । यस घटनापछि संघीय लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टीले अघि सारेका अन्य स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने गृहकार्य गरिरहेको छ ।

मोर्चाका महासचिव केशव झाले आफूहरूले धनीरामलाई नै उम्मेदवार ठानेर बसेकोमा अब नयाँ विकल्प खोज्नुपरेको बताएका छन् । रुपन्देही३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिवंगत नेता दीपक बोहराको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।


सम्बन्धित समाचार