१६ भदौ, काठमाडौं । । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
पार्टीको जिल्ला कमिटी रुपन्देहीले महासचिव घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको हो । भूसाल यसअघि २०७४ सालमा यही क्षेत्रबाट नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सिफारिस गरिएका अन्य ६ जनामा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सह-इन्चार्ज विजयलक्ष्मी राय छन् । जिल्ला कमिटीले सिफारिस गरेका यी नाममध्येबाट उम्मेदवार छनोट कार्यदलले एक महिलासहित तीन जनाको नाम केन्द्रीय समितिमा पठाउनेछ। कार्यदलमा उपमहासचिव मेटमणि चौधरी, सचिव सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इन्चार्ज ई नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह रहेका छन् ।
उपमहासचिव चौधरीका अनुसार, कार्यदलले सातैजनासँग छलफल गरेर चुनावी रणनीति बुझेपछि मात्रै अन्तिम तीन जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ।















