१६ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्समा समर्थन जनाएको भन्ने समाचारहरू पूर्ण रूपमा गलत भएको स्पष्ट पारेका छन् ।
चीनको तियान्जिनमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो कुनै सहमति नभएको उनले बताएका हुन् । भेटवार्तामा सहभागी डा. खतिवडाले राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै नेपालको संविधान र असंलग्न परराष्ट्र नीति अनुसार नेपाल कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अंग नबन्ने स्पष्ट पारेका छन् । उनले भने, ‘सहमति नै नभएको विषयमा नेपाल जीएसआईको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु विल्कुलै गलत छ।’
भेटवार्तामा छलफल भएका अन्य विषयहरू
खतिवडाले दुई देशबीच भएको भेटवार्ता मुख्यतया यसअघि नै भएका सम्झौताहरूको कार्यान्वयनमा केन्द्रित रहेको जानकारी दिए । उनले बेल्ट एन्ड रोड इनिसियटिभ लगायतका सहमति र सम्झौताका कार्यान्वयनलाई प्राथमिकता दिने विषयमा दुवै पक्षबीच छलफल भएको बताए । भेटवार्ताका क्रममा नेपाल र चीनबीच सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद र गरिबी निवारण जस्ता क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
खतिवडाले यस्ता महत्त्वपूर्ण भेटघाटको यथार्थ नबुझी गरिएका गलत समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेका छन् ।















