१७ भदौ, काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धका विषयमा उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।
दुईवटा बिहे गरेको आरोप लागेपछि उनले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको अदालती प्रमाण सार्वजनिक गरेका हुन् ।
भावनात्मक स्पष्टीकरण र प्रमाण
आफ्नो उम्मेदवारी घोषणापछि दुई विवाहको विषयमा व्यापक चर्चा भएपछि डा.थापाले सामाजिक सञ्जालमार्फत आफ्नो पक्ष राखेका हुन्। उनले २०७९ माघ १५ गते रुपन्देही जिल्ला अदालतबाट एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको कागजात सार्वजनिक गरे । यस विषयमा भावनात्मक स्टाटस लेख्दै उनले भनेका छन्, “परिस्थितिका कारण मैले जीवनमा दुईपटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो।” उनले सम्बन्ध विच्छेद भए पनि आफ्ना सन्तानसँगको सम्बन्ध र जिम्मेवारी कायमै रहेको स्पष्ट पारेका छन् ।
‘ म माथि होइन, पार्टीमाथि सुनियोजित आक्रमण’
डा.थापाले आफ्नो व्यक्तिगत जीवनमाथि प्रश्न उठाएर रास्वपामाथि आक्रमण गरिएको बताएका छन्। उनले भनेका छन्, “यो बेथिति र विसंगतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित आक्रमण हो।” उनले आफ्नो पारिवारिक जीवन गैरकानुनी वा समस्यापूर्ण नरहेको दाबी गरेका छन्।
उनले आफ्नो निजी जीवनबारे पार्टीलाई जानकारी दिइएको र उम्मेदवार छनोट प्रक्रियामा यसको कानुनी पक्षलाई पनि ध्यान दिइएको बताएका छन्। उनले सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीसँग सौहार्दपूर्ण सम्बन्ध राख्नुलाई आफ्नो गल्ती नभएको र यो आफ्ना सन्तानको भविष्यका लागि आवश्यक रहेको बताएका छन् ।
रुपन्देही३ मा राप्रपाका सांसद दीपक बोहराको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
















