१७ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेको मानव बेचबिखन सम्बन्धी आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै त्यसलाई पूर्णरूपमा खारेज गर्ने बताएकी छन् ।
उनले यी आरोपहरू संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण लगाइएको जिकिर गरेकी छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपसभामुख रानाले आफूलाई हटाएर ठूला दलहरूले संवैधानिक परिषद्मा बहुमत सिद्ध गर्न खोजेको दाबी गरिन् । ‘संवैधानिक परिषद्मा कांग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्,’ उनले भनिन्। उनले यस्ता आरोपहरूले आफूलाई विचलित नबनाउने पनि स्पष्ट पारिन्।
मानव बेचबिखनको आरोप आधारहीन
एमाले सांसद योगेश भट्टराईले लगाएको मानव बेचबिखनको आरोपलाई पनि उपसभामुख रानाले आधारहीन बताएकी छन्। उनले भनिन्, ‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन्। यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो।’
उनले आफ्नो संस्था पीए नेपालले जेलमा रहेका अभिभावकका बालबालिकाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको स्पष्ट पारिन्। ‘हामी गरिब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौं, शिक्षा दिन्छौं, तर बेचबिखन होइन,’ उनले थपिन्। उनले बालबालिकाको गोपनीयतामाथि राजनीति गर्नुलाई ’संगीन अपराधुको संज्ञा दिँदै आफूले बच्चाहरूलाई आमा बनेर हुर्काएको बताइन्।
अमेरिकी दूतावासलाई लेखिएको पत्रबारे प्रष्टीकरण
अमेरिकी दूतावासलाई लेखिएको पत्रको विषयमा उनले भनिन्, ‘एम्बेसीबाट रिकमेन्ड मागिएको थियो तर मैले पत्र तयार गरे पनि फरवार्ड गरिनँ।’ उनले पत्र दर्ता नभएको र अमेरिका नपुगेको स्पष्ट पारिन्। यस विषयमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा गरिएको छानबिनमा पनि केही नभेटिएको उनको भनाइ छ।















