१७ भदौ,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा दर्जा र शाखा स्पष्ट नभएका दर्जनौं कर्मचारीहरू कार्यरत रहेको तथ्य सार्वजनिक भएको छ। भन्सार कार्यालयको वेबसाइटमा सहसचिवदेखि अधिकृत तहसम्मका केही कर्मचारीहरूको नाम र दर्जा खुलाइएको भए पनि धेरैजसो कर्मचारीको दर्जा र कार्यक्षेत्र (शाखा) नखुलाइएको पाइएको हो।
भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीका अनुसार कार्यालयमा एकजना सहसचिव, तीनजना उपसचिव, २० जना अधिकृत र ३० जना सुब्बाको दरबन्दी छ। तर, वेबसाइटमा सहसचिव, उपसचिव, भन्सार अधिकृत, कम्प्युटर अधिकृत, लेखा अधिकृत र एकजना केमिष्टबाहेक अन्य कर्मचारीको विवरण अस्पष्ट देखिन्छ।
विशेषगरी खरीदारभन्दा तल तहका ५० भन्दा बढी कर्मचारीको नाम त देखिन्छ, तर न त उनीहरूको पद (दर्जा) उल्लेख गरिएको छ, न त कुन शाखामा कार्यरत छन् भन्ने जानकारी। कार्यालयका कर्मचारीहरूकै अनुसार यीमध्ये धेरैजसो कर्मचारी चालक र कार्यालय सहयोगी हुन्, तर दर्जा नखुलाउने अभ्यासले पारदर्शितामाथि प्रश्न उठाएको छ।
आफ्न्त र निकटस्थको भर्ना
भन्सार स्रोतका अनुसार, करार र दैनिक ज्यालादारीमा भर्ना गरिने अधिकांश कर्मचारीहरू स्थायी कर्मचारीहरुकै आफन्त, नातेदार वा निकटस्थ हुन्। अधिकृत तहका कर्मचारीहरू सरुवा भएर आएसँगै आफ्नो अनुकुलका व्यक्तिलाई कार्यालयमा भर्ना गराउने परिपाटी रहेको खुलेको छ।
एक अधिकारीका अनुसार, “भन्सार कार्यालयमा अधिकतम पहुँच भएका कर्मचारीहरू मात्र सरुवा भएर आउने गर्छन्। उनीहरू आफ्नो गोपनीयता सुरक्षित गर्न, व्यक्तिगत सुविधा मिलाउने उद्देश्यले सहयोगी, चालकलगायतका कर्मचारीहरू छनोट गर्दछन्।“
एक कार्यकक्षमा तीन सहयोगी
स्रोतका अनुसार, केही कार्यकक्षहरूमा एकजना कर्मचारीलाई तीनजना कार्यालय सहयोगी राखिएको छ। यसले कार्य दक्षता भन्दा बढी निजी सुविधा र गोपनीयता सुरक्षित गर्ने प्रवृत्ति देखाउँछ।
राजनीतिक पहुँच र स्वार्थ
राजनीतिक पहुँच भएका व्यक्तिहरूको दबाबमा भन्सारमा विशेष गरी अधिकृत तहमा स्वार्थ मिलाएर कर्मचारी राखिने गरिएको छ। तल्लो तहका कर्मचारीहरूमा पनि उही पहुँचका आधारमा छनोट हुने गरेको पाइएको छ।
पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने सरकारी निकायमा यस्तो अपारदर्शी अभ्यासले सरकारी सेवा प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ। यथाशीघ्र कर्मचारी विवरण सार्वजनिक पार्ने र भर्ना प्रक्रियामा पारदर्शिता ल्याउने मागसमेत सरोकारवालाहरूले उठाएका छन्।















