१७ भदौ,सर्लाही । बलरा नगरपालिकामा स्थापना गर्ने निर्णय भइसकेको इलाका प्रशासन कार्यालय गोडैतामा सार्ने चलखेलविरुद्ध बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले कडा आपत्ति जनाएका छन्।
नगरप्रमुख कुशवाहाले आइतबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै इलाका प्रशासन कार्यालय बलरामा नै स्थापना गर्नुपर्ने अडान दोहोर्याएका छन्। उनले बलराको सट्टा गोडैतामा कार्यालय सार्न गरिँदै आएको प्रयासलाई गम्भीर राजनीतिक पूर्वाग्रहसहितको अस्वाभाविक दबाब को संज्ञा दिएका छन्।
मन्त्रीपरिषद्को निर्णय, तर कार्यान्वयनमा अन्योल
२०८२ साल भदौ ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार सर्लाहीको बलरा नगरपालिकामा कार्यालय स्थापना गरिने उल्लेख थियो।
तर पछिल्लो समय गोडैताबाट गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यालय गोडैतामै राख्नुपर्ने मागसहित ध्यानाकर्षण पत्रहरू बुझाइएपछि बलरामा चर्को असन्तुष्टि पैदा भएको छ।
नगरप्रमुख कुशवाहाले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन्, “बलरामा सीमा प्रहरी चौकी, विद्यालय, बैंक, अस्पताल, सिटिइभिटी क्याम्पसलगायतका संस्था निर्वाध रूपमा सञ्चालित छन्। सुरक्षाको बहानामा बलरालाई अस्वीकार गर्नु गलत हो। असुरक्षित ठानिएको ठाउँलाई सुरक्षित बनाउनु नेतृत्व वर्गको दायित्व हो।”
उनका अनुसार “इलाका प्रशासन कार्यालय बलरा” भन्नाले बलरा नगरपालिकाको सम्पूर्ण ११ वडालाई बुझिनुपर्ने हो, मात्र साविक बलरा गाउँ विकास समितिलाई होइन। कार्यालयको सेवा क्षेत्रभित्र बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका, गोडैता नगरपालिका र विष्णु गाउँपालिका पर्ने भएकाले सबैका लागि पायक पर्ने स्थान बलरामै भएको उनको तर्क छ।
‘गोडैताको विकल्प होइन, बलराभित्रै उपयुक्त स्थान छानौं’
नगरप्रमुख कुशवाहाले सबै सरोकारवाला निकायलाई एउटै टेबुलमा छलफल गर्न आग्रह गर्दै भनेका छन्, “गोडैताको विकल्प होइन, बलराभित्रकै उपयुक्त स्थानमा कार्यालय स्थापना गरौं। बलरालाई फेरि एकपटक पछाडि धकेल्ने प्रयास न्यायोचित हुँदैन।”
उनले इलाका प्रशासन कार्यालय बलरामै स्थापना गर्न सरकारसँग पुनः जोडदार माग गर्दै बलराप्रति सकारात्मक दृष्टिकोण राख्ने सबैप्रति आभारसमेत प्रकट गरेका छन्।

















