Logo

१९ भदौ,वीरगञ्ज । नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले उखु किसानका समस्याप्रति सरकारको बेवास्ता गम्भीर भएको भन्दै तत्काल माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले कृषिप्रधान देशमा किसानहरू नै निराश र आन्दोलनमा हुनु दुःखद रहेको टिप्पणी गरे।

सांसद केसीले भने, “सभामुख महोदय, कृषिप्रधान देशका किसानहरू निरन्तर समस्यामा छन्। उखु किसानहरू भुक्तानी ढिलाइ, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन्। तत्काल माग सम्बोधन होस्।“

किसानहरू आन्दोलनमा, सरकार मौन?

उखु किसानहरूले वर्षौंदेखि बक्यौता भुक्तानी नपाएको, सरकारी अनुदान कटौती गरिएको, न्यून मूल्य तोकिएको र रासायनिक मल अभाव भएको भन्दै विभिन्न स्थानमा धर्ना र प्रदर्शन गरिरहेका छन्। सांसद केसीले यस्ता समस्यामा परेका किसानहरूको आवाज सुन्न सरकारलाई आग्रह गर्दै किसानप्रतिको उदासीनताप्रति गम्भीर आपत्ति जनाए।

सांसद केसीले हालै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक प्रकोपका कारण नागरिकको ज्यान गएको घटनाप्रति पनि सरकार गम्भीर नभएको आरोप लगाए। “नागरिक ज्यान गुमाइरहेका छन्, तर सरकार मौन छ, बेवास्ता गरिरहेको छ,” उनले भने।

उनले सरकारलाई जनताको जीवन र जीविकासँग जोडिएका विषयमा गम्भीर हुन चेतावनी दिँदै भने, “किसानको माग, पीडितको पीडा र जनताको समस्या सम्बोधन नगर्ने हो भने संसदमा प्रश्न उठिरहनेछ।”


सम्बन्धित समाचार
भर्खरै