Logo

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले वर्षायाम र चाडबाडपछि आन्दोलनका कार्यक्रमहरू सुरु गर्ने योजना बनाएको हो ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाएका छन् । ‘सरकारले जनताका माग सम्बोधन गरेको छैन, सुशासन कमजोर भएको छ, र भ्रष्टाचार झन्झन् बढेको छ,’ उनले भने, ‘अब सडक संघर्षको तयारी गर्नुपर्छ।’

प्रवक्ता सापकोटाका अनुसार, यो संघर्षले तात्कालिक र रणनीतिक दुवै विषयहरूलाई समेट्नेछ । पार्टीले लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख राज्यव्यवस्थाबारे जनमत सिर्जना गर्दै भविष्यका आन्दोलनमा त्यसलाई जोड्ने बताएको छ । यसका साथै, माओवादी केन्द्रले भदौ २१ गतेदेखि मध्यपहाडी लोकमार्गमा पार्टीको अभियान पुनः सुरु गर्ने निर्णय पनि गरेको छ । बैठकमा पार्टीभित्रको अनुशासन र गुटउपगुट अन्त्य गर्ने विषयमा छलफल भए पनि कुनै ठोस निर्णय भने नभएको बताइएको छ ।


सम्बन्धित समाचार
भर्खरै