२० भदौ,काठमाडौं । आज, सेप्टेम्बर ५, विश्वभर अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदैछ। यस दिवसको अवसरमा विभिन्न कार्यक्रम तथा परोपकारी गतिविधिहरू सञ्चालन गरिन्छ।
यो दिवस विशेषगरी मदर टेरेसाको पुण्यतिथिमा उनको विश्वभरका असहाय र गरिब मानिसहरूको सेवामा गरेको योगदानलाई स्मरण गर्दै मनाइन्छ। सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो।
अन्तर्राष्ट्रिय परोपकार दिवस मनाउनुको मुख्य उद्देश्य असमानता, गरिबी र अन्य विभिन्न प्रकारका पीडाबाट ग्रसित समुदायलाई सहयोग पुर्याउनु हो। संयुक्त राष्ट्रसङ्घले यस दिवसमार्फत पारदर्शी र जिम्मेवारपूर्ण ढङ्गले गरिबहरूलाई सहयोग गर्न, युवा नेतृत्व विकास गर्न र जलवायु परिवर्तन तथा गरिबीका कारण गाँस, बास र कपासको अभाव झेलिरहेका मानिसहरूलाई उदार मनले मद्दत गर्न जोड दिएको छ।
सन् १९१० मा जन्मिएकी मदर टेरेसाले आफ्नो जीवन गरिब र असहायहरूको सेवामा समर्पित गरेकी थिइन्। उनले स्थापना गरेको ’मिसनरी अफ च्यारिटी’ ले विश्वभरका असहाय र बिरामी मानिसहरूको सेवा गर्दै आएको छ। उनलाई उनको यस महान् कार्यको लागि सन् १९७९ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।















