२० भदौ,वीरगञ्ज । नेपाल प्रहरी मधेस प्रदेश कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाले मधेसमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रदेश प्रहरी कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन्।
शुक्रबार वीरगन्जमा पत्रकारहरूसँग आयोजित परिचयात्मक कार्यक्रममार्फत बोल्दै एसएसपी कोईरालाले मधेस प्रदेशमा विशेषगरी सामाजिक अपराधहरू चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अपराध रोकथाम तथा अनुसन्धानमा सबै निकायबीच सहकार्य आवश्यक रहेको बताए।
उनले भने, “प्रदेश प्रहरी कार्यालयले ८ वटै जिल्लाका प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै अपराध नियन्त्रण, शान्ति सुव्यवस्था कायम र मानव संसाधन व्यवस्थापनमा केन्द्रीत भएर काम गर्नेछ।”
प्रदेश प्रहरीको संरचना र अधिकार क्षेत्रबारे जानकारी दिँदै उनले संघीयता कार्यान्वयनपछि सन् २०७५ मा जनकपुरमा स्थापना गरिएको प्रदेश प्रहरी इकाईलाई २०७८ साल फागुन ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार हाल वीरगन्जमा सारिएको जानकारी दिए।
उनका अनुसार प्रदेश प्रहरी कार्यालयको प्राथमिकता सूचना संकलन, अपराध विश्लेषण, फैसला कार्यान्वयन र समन्वयमा आधारित हुनेछ। संघीय प्रहरी ऐन अहिलेसम्म जारी नभएकाले केही कार्यान्वयन चुनौती हुन सक्ने स्वीकार गर्दै एसएसपी कोईरालाले ऐन जारी भएपछि प्रदेश प्रहरीको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा उनले पत्रकारहरूसँग सहकार्य गर्दै सुरक्षा सम्बन्धी सूचना आदानप्रदान गर्न समेत आग्रह गरे।















