२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा विधान र विधिसँग सम्बन्धित विषयमा मात्रै छलफल हुने स्पष्ट पारेका छन् ।
आजबाट सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको एजेन्डा नभएको अप्रत्यक्ष रूपमा बताएका हुन् । अध्यक्ष ओलीले कुनै नाम नलिई भने, केही विषयहरू उठेका छन्। ती विषयहरू विधान महाधिवेशनको विधि र विधानसँग सम्बन्धित छैनन् । ती विषयहरू अन्य कमिटीमा छलफल गरिनेछ।’ उनले विधान महाधिवेशनलाई विषय केन्द्रित भएर अगाडि बढाउने बताए ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा एमालेभित्र विवाद देखिएको छ । पार्टीका दुई उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन् भने स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत दर्ता गराएका छन् । पार्टी स्रोतका अनुसार, ज्ञवाली र पाण्डेको फरक मतले विधान महाधिवेशनमा प्रवेश नपाउने बताइएको छ। यद्यपि, थापाको फरक मतबारे भने छलफल हुने सम्भावना छ।















