२० भदौ,काठमाडौं । महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण, विशेषगरी मानव बेचबिखन रोकथाममा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई नेपाल सरकारले सम्मान गरेको छ ।
मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार काठमाडौँको नाचघरमा आयोजित एक विशेष समारोहमा उपरीक्षक मिश्रलाई कदरपत्रद्वारा सम्मानित गरिएको हो । देशभरका ७७ जिल्ला प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मानव बेचबिखन विरुद्धको अभियानमा जिल्ला प्रहरी कार्यालय, पर्सा उत्कृष्ट घोषित भएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले एसपी मिश्रलाई खादा ओढाएर कदरपत्र प्रदान गरे ।
समारोहमा बोल्दै उपप्रधानमन्त्री सिंहले मानव बेचबिखन मानवता विरुद्धको जघन्य अपराध भएको बताऐ । उनले यस अपराध नियन्त्रणमा पर्सा प्रहरीले खेलेको भूमिकाको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको र सोहीअनुसार उपरीक्षक मिश्रलाई सम्मान गरिएको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले गत आर्थिक वर्षमा पर्सा प्रहरीले भारतमा बेचिएका नेपाली चेलीहरूलाई सकुशल उद्धार गर्ने तथा घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने जस्ता महत्त्वपूर्ण कार्य गरेको बताए । उनले मानव बेचबिखन जस्ता अपराधमा शून्य सहनशीलता अपनाउन र दोषीलाई कडा कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।















