प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको कडा आलोचना गरेका छन् ।

उनले सरकारको यो कदमलाई संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी भन्दै यसले अभिव्यक्ति स्वतन्त्रतामाथि सिधा प्रहार गरेको आरोप लगाएका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रचण्डले सरकारले आफूविरुद्ध हुने आलोचनालाई दबाउन यो निर्णय गरेको आरोप लगाए । उनले लेखेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध हुने आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ।’

प्रचण्डले सरकारको यो निर्णयले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता मात्रै नभई देशको अर्थतन्त्रलाई धानिरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू र उनीहरूका परिवारबीचको सञ्चारमा समेत बाधा पुर्‍याएको बताएका छन् ।
उनले आफ्नो पार्टी सामाजिक सञ्जालको नियन्त्रण नभई उचित नियमनको पक्षमा रहेको स्पष्ट पारेका छन् । संसद्मा विधेयक विचाराधीन हुँदाहुँदै कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक र गलत कदम भएको उनको भनाइ छ ।


सम्बन्धित समाचार