प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० भदौ,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा बाघको आक्रमणका घटनाहरू बढ्दै जाँदा स्थानीयवासीहरू त्रासमा परेका छन्। पछिल्लो दुई महिनाको अवधिमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको स्थानीयले बताएका छन्।

आक्रमणमा परेर ज्यान गुमाउनेहरूमा जीतपुरसिमरा उपमहानगरपालिकाका चन्द्रबहादुर बोलाङ्ग, कृष्ण कुमार शर्मा र रमेश कार्की रहेका छन्। स्थानीयका अनुसार, दुई जनाको जंगलभित्र घाँस–दाउरा संकलन गर्ने क्रममा र एक जनाको सडक किनारमै बाघले आक्रमण गरेको हो।

वडाध्यक्ष शेखरकाजी रुम्बाले पर्सा राष्ट्रिय निकुञ्ज र वन कार्यालयमाथि नरभक्षी बाघ नियन्त्रणमा लिनेतर्फ बेवास्ता गरेको आरोप लगाएका छन्।उनका अनुसार, मानव–वन्यजन्तु द्वन्द्व गम्भीर बन्दै गए पनि सरकारी संयन्त्र निष्क्रिय देखिएको छ।
“बाघ नियन्त्रणभन्दा मानव व्यवहारमा सुधार आवश्यक“ — निकुञ्ज

यसबीच, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले भने यस्तो घटना ‘मानवीय त्रुटि’का कारण भएको बताएका छन्।
उनका अनुसार, “बाघको बासस्थानमा मानिसले जबर्जस्ती प्रवेश गर्दा यस्ता घटनाहरू हुने गरेका हुन्। व्यवहारमा परिवर्तन आवश्यक छ।”उनले बाघले आक्रमण गर्दा हुने क्षतिमा राहतको कुनै व्यवस्था नभएको पनि स्पष्ट पारे।

सुरक्षाका उपाय : सूचना, क्यामेरा, अपिल

निकुञ्ज प्रशासनले अब सडकखण्डमा सवारीसाधन नरोकिन यात्रुहरूलाई सार्वजनिक सूचना जारी गरेको छ।साथै, जंगल क्षेत्रमा निगरानी बढाउन क्यामेरा जडान गर्ने कार्य पनि भइरहेको बताइएको छ।

तर खतिवडाले प्रदेश सरकार, स्थानीय तह र वडा कार्यालयहरूबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। सन् २०१८ मा १८ वटा रहेको बाघको संख्या २०२२ मा ४१ पुगेको थियो।आगामी गणनामा बाघको संख्या ५० नाघ्न सक्ने अनुमान गरिएको छ। बाघको संख्यामा आएको तीव्र वृद्धिले मानव–वन्यजन्तु द्वन्द्व अझै बढ्ने खतरा बढाएको संरक्षणविद्हरू बताउँछन्।


सम्बन्धित समाचार