२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘टाउका जोडेर’ गरिने र क्षणभरमै भत्किने खालको वाम एकताको पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले पार्टी जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकताको पक्षमा रहेको उल्लेख गरेका छन् । ओलीले भनेका छन्, हामी स्वार्थमा आधारित, अर्थात् टाउका जोडेर गरिने एकतामा होइन, कार्यकर्ताहरूलाई जगैदेखि समेट्दै आन्दोलनलाई वैचारिक, सांगठनिक र भावनात्मक रूपमा एकताबद्ध बनाउने बाटोमा छौं। उनले अहिलेको सन्दर्भमा यही नै उपयुक्त बाटो भएको दाबी गरेका छन् ।
दस्तावेजमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने दायित्व एमालेकै काँधमा रहे पनि कस्तो एकता गर्ने भन्ने महत्त्वपूर्ण प्रश्न रहेको बताएका छन् । उनले नेताहरूको व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी टुक्रिने विगतको उदाहरण दिँदै त्यस्तो एकता दिगो र उपलब्धिपूर्ण नहुने स्पष्ट पारेका छन् ।

















