२० भदौ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षा प्रणालीलाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम नभई, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको अचुक अस्त्र भएको बताए।
ललितपुरस्थित सेन्ट मेरिज माध्यमिक विद्यालय, जावलाखेलको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “विद्याले विनयशील नागरिक जन्माउँछ, अनि सक्षम देशभक्त तयार हुनुपर्छ।”
उनले देशको आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि उत्पादन र रोजगारी वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए। “शिक्षाले आलोचनात्मक चेतको विकास गर्छ, जसले निर्णय क्षमता बढाएर जन, देश र समाजको हितमा समर्पित हुने ऊर्जा प्रदान गर्छ,” उनले भने।
राष्ट्रपति पौडेलका अनुसार पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार, जलविद्युत् र ग्रामीण विकासका क्षेत्रमा प्रगति भएको छ। उनले लोकतान्त्रिक शासन प्रणालीले स्वतन्त्रता मात्र होइन, प्रगति र विश्वासको उज्यालो पनि देखाएको बताए।
“सच्चिने, सिंहावलोकन गर्ने अनि अगाडि बढ्ने उच्चतम अवसर यही शासन प्रणालीले दिएको छ। अब निराशा, गुनासा र असन्तुष्टि त्यागेर हामीले सुशासनमार्फत आशा, प्रगति र विकासको यात्रामा अघि बढ्नुपर्छ,” पौडेलले भने।
उनले युग निर्माणको अवसर गुमाउन नहुने भन्दै योजनाबद्ध नीति, दूरदर्शी नेतृत्व र जनतामुखी कार्यक्रममार्फत शिक्षा प्रणाली सुधार गर्नुपर्ने धारणा व्यक्त गरे।
“त्यही अनुसारको शिक्षा दिएर सक्षम, योग्य र उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ नीति निर्माता, सरकार र शिक्षण संस्थाको अर्जुन दृष्टि केन्द्रित हुनुपर्छ,” उनको भनाइ थियो।
राष्ट्रपतिका अनुसार शिक्षाले मानवता, न्याय, निष्ठा, नम्रता, करुणा र सेवा जस्ता मानवीय मूल्यका आधारमा जीवनको आदर्श निर्माण गर्ने कार्य गर्नुपर्छ। “असल र गुणस्तरीय शिक्षाबाट नै मानव जीवनको सार्थकता प्रमाणित गर्न सकिन्छ,” उनले थपे।

















