Logo

२१ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको दुई दिनपछि नेपालमा युट्युब पनि बन्द गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)ले युट्युबका

आईपी एड्रेसहरू अवरुद्ध गर्दै सेवा बन्द गर्न थालेको हो। युट्युब बन्द भएसँगै त्यसमा उपलब्ध म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीत–संगीत, समाचार, कमेडी लगायतका हजारौं सामग्रीमा नेपाली दर्शकहरूको पहुँच बन्द भएको छ।
आईएसपानका अध्यक्ष सुधीर पराजुलीका अनुसार युट्युबका सबै आईपी एड्रेसहरू क्रमशः बन्द गर्ने प्रक्रिया अघि बढेको छ। अहिले वेब ब्राउजरमा युट्युब अवरुद्ध भइसकेको छ भने मोबाइलमा पनि सेवा बन्द गर्ने प्रक्रिया जारी छ।

“हामीले सरकारको निर्णय अनुसार दर्ता नभएका सामाजिक सञ्जालका आईपी एड्रेसहरू बन्द गर्न थालेका छौं,” पराजुलीले बताए। “हिजो फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम जस्ता प्लेटफर्महरू वेब ब्राउजरमा बन्द भइसकेका छन् भने आज युट्युब पनि बन्द भएको छ।”

उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राजनीतिक र प्रशासनिक तहबाट आएको भन्दै यसले प्राविधिक तथा आर्थिक पक्षमा गम्भीर असर पारेको बताए। “युट्युब ब्लक गर्दा त्यही आईपी साझा भएकाले जिमेलजस्ता सेवा पनि प्रभावित हुन सक्छन्, जसको असर फोन र अन्य डिजिटल सेवामा देखिन सक्छ,” उनले स्पष्ट पारे।

डिजिटल अर्थतन्त्र धराशायी, कलाकार र व्यवसायी प्रभावित

सामाजिक सञ्जाल बन्द भएपछि नेपालमा डिजिटल अर्थतन्त्रमा गम्भीर असर परेको सरोकारवालाहरूले बताएका छन्। स्टार्टअप, साना व्यवसाय र अनलाइन मार्केटिङ पूर्णरूपमा ठप्प छन् भने कन्टेन्ट क्रिएटरहरूले लाखौंको आम्दानी गुमाएका छन्।

कलाकारहरूले सार्वजनिक गर्न लागेका नयाँ गीतहरू स्थगित भएका छन्, टेलिसिरियल तथा हास्यव्यङ्ग्य कार्यक्रमको प्रशारण रोकिएको छ। “यस्तो निर्णयले डिजिटल युगमा अगाडि बढिरहेको नेपाललाई पछाडि धकेल्ने खतरा छ,” एक कन्टेन्ट क्रिएटरले प्रतिक्रिया दिएका छन्।

विशेषज्ञहरूले यस्ता कदमले अभिव्यक्ति स्वतन्त्रता, सूचना पहुँच, इन्टरनेट अधिकार र आर्थिक स्वतन्त्रतामा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।


सम्बन्धित समाचार
भर्खरै