२० भदौ,काठमाडौं ।कञ्चनपुरमा नक्कली भारतीय नोटसहित पाँच जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, जोनापुरबाट नक्कली भारतीय नोटसहित दुई नेपाली र तीन भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुबाट करिब ७३ हजार ५ सय भारतीय रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।
पक्राउ पर्नेमा शुक्लाफाँटा–१, बन्साहका ३२ वर्षीय सौगातबहादुर सिंह र २४ वर्षीय चन्द्र बोहरा रहेका छन् । त्यस्तै, भारतको बरेली तेसिलमिगञ्जका २५ वर्षीय कुलदीप चतुर्वेदी, बरेली फटितेगञ्जका २० वर्षीय अमित यादव र उत्तराखण्डका २४ वर्षीय हिमांशु शर्मा पनि पक्राउ परेका हुन् ।
नेपाली सेनाको रणसिंह सुरक्षा गण, जोनापुर पोस्टले सवारी साधन जाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले प्रयोग गरेको यूपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा लुकाएको अवस्थामा ५०० रुपैयाँ दरका १४७ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झालारीले नक्कली नोटको सूचना पाएपछि उनीहरुको पिछा गर्दै जाँदा सेनाको चेकपोस्टमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















