Logo

२१ भदौ,काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन अन्तर्गत भएको समूहगत छलफल शनिबार सकिएको छ। महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न २,१२६ प्रतिनिधिलाई ९ वटा समूहमा विभाजन गरी समूहगत छलफल गराइएको थियो।

तर, छलफलमा धेरै प्रतिनिधिलाई बोल्न नदिइएको गुनासो प्रतिनिधिहरूबाट आएको छ। यस्तै, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले प्रस्तुत गरेको ३२ पृष्ठ लामो फरक मत महाधिवेशन हलमा राख्न अनुमति नपाए पनि उक्त फरक मतको प्रतिलिपि प्रतिनिधिहरूलाई वितरण गरिएको छ।

समूहगत छलफल सकेर शनिबार साँझ सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ। अब, महाधिवेशनको भोलि आइतबार बस्ने बैठकमा समूह संयोजकहरूले प्रतिनिधिहरूबाट संकलित सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ।
महाधिवेशनले पार्टीको विधान संशोधनसहित सांगठनिक ढाँचा, आगामी निर्वाचनको रणनीति, र वैचारिक दिशालाई थप स्पष्ट पार्ने लक्ष्य लिएको छ।

पार्टीको रणनीतिक अभियान “मिसन ०८४“ लाई सफल बनाउने लक्ष्यसहित सुरु भएको महाधिवेशनमा आगामी दिनमा नेताहरूबीच धारणा भिन्नता र वैचारिक बहस अझ चर्किन सक्ने संकेत देखिएको छ।


सम्बन्धित समाचार