२१ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवक्ता मनिष झा ले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धलाई सरकारको ‘इगो’ का कारण भएको बताएका छन्। उनले सरकारले सामाजिक सञ्जालमा हुने आलोचना सहन नसकेर यस्तो निर्णय गरेको आरोप लगाए।
शनिबार ललितपुरमा भएको डिजिटल मिडिया फाउन्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतको फैसलालाई टेकेर सरकारले निर्णय गरेको भन्ने तर्क सही नभएको बताए। अदालतले सामाजिक सञ्जाल बन्द गर्न नभई नियमन गर्न मात्र भनेको र यसका लागि कानुन बनाउनुपर्ने उनको भनाइ थियो।
झाले सामाजिक सञ्जाल बन्द हुँदा यसले राजनीतिक, सामाजिक, आर्थिक र अपराध अनुसन्धानमा नकारात्मक असर पार्ने बताए। उनले ’हामीले भनेको नमान्ने? देखाइदिउँ’ भन्ने सोचका साथ सरकारले सामाजिक सञ्जाल बन्द गरेको तर्क गर्दै यसको पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ को ’इगो’ रहेको दाबी गरे।
उनले सरकारले आपराधिक घटना देखाएर सामाजिक सञ्जाल बन्द गरे पनि भीपीएन (ख्एल्) को प्रयोगले हुने अपराध नियन्त्रण गर्न झन् जटिल हुने बताए। यसको उदाहरण दिँदै उनले पार्टीका उपसभापति स्वर्णिम वाग्ले को ’डिपफेक’ भिडियोको अनुसन्धानमा प्रहरीले भोगेको चुनौतीबारे चर्चा गरे। साइबर ब्युरोमा दैनिक ५८ वटा साइबर अपराधका उजुरी पर्ने गरेको र भीपीएनको प्रयोगले अनुसन्धान झन् कठिन हुने कुरा प्रहरीले नै बताएको उनले जानकारी दिए।
सांसद झाका अनुसार, सामाजिक सञ्जालले मानिसलाई आफ्ना भावना अभिव्यक्त गर्ने माध्यम दिएको छ। यदि सरकारको कामप्रति असन्तुष्टि जनाउन प्रयोगकर्ताहरू सडकमा उत्रिए भने त्यसलाई व्यवस्थापन गर्न सरकारलाई गाह्रो पर्ने उनको तर्क थियो।
सभामुख देवराज घिमिरे को प्रमुख आतिथ्यमा भएको यस सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रका सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र प्रतिनिधि सहभागी थिए।















