२२ भदौ,पोखरा। नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले पोखरामा प्रदर्शन गर्ने भएको छ। पार्टीले दलाल दलतन्त्र र कुशासनविरुद्ध तेस्रो जनआन्दोलनको तयारी गर्न पनि आह्वान गरेको छ।
शनिबार पोखराको रानीपौवास्थित तमु भवनमा भएको आजपाको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टीका सहअध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगरले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अलोकतान्त्रिक, असंवैधानिक र आपत्तिजनक रहेको बताए। उनले यो निर्णयले संविधानले प्रदान गरेको अभिव्यक्ति, प्रेस र सूचनाको स्वतन्त्रताको अधिकार हनन गरेको जिकिर गरे।
थापामगरले गणतन्त्रको नाममा मुलुकमा दलहरूको लुट, भ्रष्टाचार र कुशासन बढेको भन्दै यस्तो दलाल दलतन्त्रविरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए।
भेलाले गरेको निर्णयअनुसार, सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा आइतबार पोखरामा विरोध प्रदर्शन गरिनेछ।
आजपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष भोजराज त्रिपाठीले सरकारले फेवा तालको सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिरहेको आरोप लगाए। उनले भ्रष्टाचार र अनियमितताको अहिलेको अवस्थामा चुप लागेर बस्न नसकिने बताए।
आजपा कास्की जिल्ला अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा सम्पन्न भेलामा आम ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष हरि थापा, आजपा कास्की जिल्ला इन्चार्ज सन्तोष साह, आम महिला मोर्चा गण्डकी प्रदेशका इन्चार्ज सीता सुवेदी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।















