२२ भदौ, काठमाडौं । नेपाल सरकारले केही सामाजिक सञ्जालहरूमा लगाएको प्रतिबन्धको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सडकमा उत्रिएका छन् ।
उनीहरूले आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सामाजिक सञ्जाल तत्काल खुला गर्न माग गरेका हुन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा सरकारको यो कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरिएको छ । नेपालको संविधानको धारा १७, १९ र २७ ले प्रत्याभूत गरेको नागरिकको मौलिक अधिकारलाई कुण्ठित गर्ने यो कार्य लोकतन्त्रको विश्वव्यापी मान्यताविपरीत भएको उनीहरूको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दर्ता नभएको बहानामा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्ध पूर्णरूपमा अस्वीकार्य छ।’ महासंघका पूर्वपदाधिकारीहरूले सामाजिक सञ्जालमा देखिएका समस्या समाधान गर्न संसद्बाट कानुन बनाएर व्यवस्थित नियमनको बाटो अपनाउन सकिने अवस्था हुँदाहुँदै सरकारले यस्तो कठोर र अलोकतान्त्रिक कदम चालेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
यो कदमले विदेशमा रहेका नेपाली र उनीहरूको परिवारबीचको सम्पर्क तोडेको र बालबालिकाको सिकाइमा समेत दीर्घकालीन असर पार्ने चिन्ता पनि व्यक्त गरिएको छ । विरोध प्रदर्शनमा सहभागी हुन प्रेस तथा नागरिक स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गरिएको छ। उनीहरूले सरकारलाई बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गरेका छन्। साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न पनि सुझाव दिएका छन् ।















