२२ भदौ, काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा ७० वर्षभन्दा माथिका सदस्यहरूलाई मानार्थ सदस्यता दिने र उनीहरूबाट कुनै पनि सदस्यता शुल्क नलिने प्रस्ताव अघि सारिएको छ ।
समूहगत छलफलका क्रममा प्रतिनिधि कमल पाठकले यो प्रस्ताव पेस गरेका हुन् । ‘राज्यले नै ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गर्छ, हामीले पनि त्यही गर्नुपर्छ,’ नेता पाठकले भने, ‘मर्दासम्म लेबी उठाउने कुरा उचित होइन, यसको सट्टा मानार्थ सदस्यताको व्यवस्था गरौँ।
हाल एमालेको विधानमा पार्टी र सङ्गठित सदस्य गरी दुई प्रकारको सदस्यताको प्रस्ताव छ। यी दुवै प्रकारका सदस्यहरूले पार्टीको नीति, विचारलाई समर्थन गर्दै तोकिएको शुल्क तिर्नुपर्छ। पाठकको यो प्रस्तावले यही व्यवस्थामा संशोधन गरी मानार्थ सदस्यको नयाँ श्रेणी थप्न सुझाव दिएको छ।
यो प्रस्ताव यस्तो समयमा आएको छ, जब एमालेमा उमेर हदको व्यवस्था हटाउने विषयमा समेत छलफल भइरहेको छ। हाल, एमालेको कुनै पनि कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हद लागू छ।
यसका साथै, एमालेले हरेक कमिटीको सदस्य वा पदाधिकारीका लागि माथिल्लो कमिटीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षणमा सहभागी भएको हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ। यसले पार्टीका नेताहरूलाई पार्टीको नीति र सिद्धान्तमा अभ्यस्त गराउने उद्देश्य राखेको छ।
ललितपुरको गोदावरीमा चलिरहेको एमालेको विधान महाधिवेशन आज सम्पन्न हुँदैछ। समूहगत छलफलको निष्कर्ष प्रस्तुत भएपछि अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, र महासचिव शङ्कर पोखरेलले उठेका प्रश्नहरूको जवाफ दिनेछन्। त्यसपछि सबै प्रतिवेदन र प्रस्तावहरू संशोधनसहित पारित भई महाधिवेशन सकिनेछ।















