Logo

२२ भदौ, काठमाडौं । आज भदौ शुक्ल पूर्णिमाको दिनबाट मिथिलाञ्चलमा पितृपक्ष सुरु भएको छ। यद्यपि असोज कृष्णपक्षलाई नै पितृपक्ष मानिन्छ, मैथिल धार्मिक परम्पराअनुसार भदौ पूर्णिमाबाट देवर्षि तर्पण दिइएपछि पितृपक्षको पूर्वविधि विधिवत् रूपमा सुरु हुने मान्यता रहेको छ।

आजको दिन कूलदेवता, ग्राम देवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइन्छ। त्यसपछि भोलिदेखि अर्थात् असोज कृष्णपक्ष प्रतिपदादेखि पितृपक्षभरि आफ्ना दिवंगत पितृहरूको स्मरण र श्राद्ध गरिन्छ।

मिथिलाका विभिन्न धार्मिक महत्वका नदी, तलाउ र तीर्थस्थलहरूमा आज बिहानैदेखि देवर्षि तर्पण दिने श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ। विशेष गरी गंगा, कमला, बलान, र काठी नदी तथा सौराथ, जनकपुर, मटिहानी जस्ता तीर्थस्थलहरूमा तर्पण दिनेहरूको चहलपहल बढेको छ।

मिथिलामा पितृपक्षलाई दशैं, तिहार, र छठजस्ता पर्वहरू अघिको पवित्र कर्म मानिन्छ। यो पक्षमा पितृहरूको आत्मालाई तृप्त पार्न गरिएको तर्पण, दान, र श्राद्धलाई धार्मिक, सांस्कृतिक र पारिवारिक उत्तरदायित्वका रूपमा लिइन्छ।
धार्मिक विश्वास अनुसार, पितृपक्षमा श्रद्धा र विधिपूर्वक गरिएको तर्पणले पितृहरूको आत्मा सन्तुष्ट हुने र परिवारमा शान्ति, समृद्धि र सन्तानसुख प्राप्त हुने विश्वास छ।


सम्बन्धित समाचार
भर्खरै