Logo

२२ भदौ, काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले ठक्कर दिएर घाइते भएकी बालिकाको उपचार खर्च र २५ हजार रुपैयाँ क्षतिपूर्ति दिएपछि गाडीका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले रिहा गरेको छ ।

चौधरीले चलाएको गाडीले शनिबार ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा एक ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिए पनि कुनै उजुरी नपरेको, बालिकाको सामान्य उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्रीले क्षतिपूर्ति तिरिसकेकोले चालकलाई छाडिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन ललितपुरको गोदावरी आएका मन्त्री राना सवार उक्त गाडीले साँघुरो सडकमा तीव्र गतिमा गुड्दा बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनापछि गाडी नरोकी अगाडि बढेको भन्दै चालकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

आलोचना बढेपछि एमालेले बालिकाको उपचार खर्च व्यहोर्ने बताएको थियो। बालिकालाई ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार गरिएको र उनलाई सामान्य चोट मात्र लागेको बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै