२२ भदौ, काठमाडौं । नेपालमा नर्सिङ पेसालाई थप व्यावसायिक र गुणस्तरीय बनाउन नेपाल नर्सिङ परिषद्ले एक नयाँ व्यवस्था लागू गरेको छ।
आगामी माघ १ गतेदेखि निरन्तर व्यावसायिक विकास (सीपीडी) कार्यक्रम अनिवार्य गरिएको छ, जसअन्तर्गत नर्सहरूले हरेक ६ वर्षमा कम्तीमा ६० घण्टाको तालिम नलिए उनीहरूको लाइसेन्स नवीकरण हुनेछैन । परिषद्का अध्यक्ष सरला केसीका अनुसार, अहिलेसम्म निश्चित शुल्क तिरेर स्वतः नवीकरण हुने नर्सिङ लाइसेन्स अब ज्ञान र सिप अद्यावधिक गरेपछि मात्र नवीकरण हुनेछ । यो कदम नर्सहरूलाई समयसापेक्ष ज्ञान प्रदान गर्न, बिरामीको उपचारको गुणस्तर बढाउन र नर्स तथा बिरामीबीचको असमझदारी घटाउनका लागि चालिएको हो ।
सीपीडी कार्यक्रमको मुख्य विशेषता
अनिवार्य तालिमः प्रत्येक नर्सले ६ वर्षभित्र न्यूनतम ६० देखि १२० घण्टाको तालिम लिनुपर्नेछ। यो तालिम काम गरिरहेको स्वास्थ्य संस्था वा शिक्षण संस्थाले नै प्रदान गर्नुपर्नेछ। हरेक वर्ष कम्तीमा १० क्रेडिट प्वाइन्ट हासिल गर्नुपर्नेछ। यी प्वाइन्टहरू तालिम, वर्कशप, सेमिनार, अनुसन्धान र विभिन्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी भएर प्राप्त गर्न सकिन्छ। संवाद सिप, बेसिक लाइफ सपोर्ट, संक्रमण रोकथाम तथा नियन्त्रण, मेडिकल नैतिकता, र नयाँ प्रविधिबारेको ज्ञान अभिवृद्धि जस्ता विषयमा तालिम केन्द्रित हुनेछ। दक्षता र अनुभवका आधारमा मूल्यांकन गरिने भएकाले नर्सहरूलाई कुनै आर्थिक दायित्व नपर्ने परिषद्ले जनाएको छ। तालिमलाई सहज बनाउन भिडियो, अनलाइन सामग्री र प्राविधिक अभ्यासका मोडेलहरू तयार पारिएको छ।
किन आवश्यक छ यो व्यवस्था?
अध्यक्ष केसीका अनुसार, एकपटक पढाइ सकेपछि सधैँभरि त्यही ज्ञानले काम गर्दैन । मेडिकल क्षेत्रमा निरन्तर नयाँ प्रविधि र उपचार विधिहरू आइरहन्छन् । यो कार्यक्रमले नर्सहरूको ज्ञानलाई अद्यावधिक राख्छ, जसको सीधा फाइदा बिरामीहरूलाई मिल्छ । यसले स्वास्थ्य संस्थालाई पनि आफ्ना कर्मचारीहरूलाई तालिम दिन प्रोत्साहित गर्नेछ। साथै, यो व्यवस्था लागू भएपछि कुन ठाउँमा कति नर्स कार्यरत छन् भन्ने यकिन तथ्यांक पनि प्राप्त हुनेछ ।
परिषद्को तथ्यांकअनुसार, नेपालमा हालसम्म ८६ हजारभन्दा बढी नर्स दर्ता छन्, तर तीमध्ये आधाभन्दा कमले मात्र लाइसेन्स नवीकरण गरेका छन्। लगभग ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको अनुमान छ भने करिब २० हजार नर्स विदेशका लागि भेरिफिकेसन लिएर बसेका छन्। यो कार्यक्रमले उनीहरूको सिप र दक्षतालाई अझ निखार्न मद्दत गर्नेछ।















