Logo

२२ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन नजिकिँदै गर्दा नेताहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा चुलिँदै गएको छ। यही भदौ ३१ गतेदेखि असोज १ गतेसम्म जनकपुरधाममा हुने मधेश प्रदेशको प्रथम एकता अधिवेशनलाई लक्षित गर्दै उम्मेदवारी घोषणाको क्रम तीव्र बन्दै गएको छ।

मधेश प्रदेशका पूर्वराज्यमन्त्री तथा जसपा नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले औपचारिक रूपमा प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीका समाजवादी युवा संघका पूर्वअध्यक्षसमेत रहेका यादवले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै, वर्तमान नेतृत्व असफल भएको जनाउँदै मैदानमा उत्रिएका हुन्।

उनले भने, “०८४ को मिसन सफल बनाउन र मधेशमा पुनः जसपाको सरकार बनाउन मैले उम्मेदवारी दिएको हुँ।“ उनले विगत केही महिनादेखि मधेश प्रदेशका सबै आठ जिल्लामा पुगेर नेता, कार्यकर्ता र समर्थकसँग परामर्श तथा भेटघाट गर्दै संगठन बलियो बनाउने अभियान थालेका छन्।
हालका अध्यक्ष बालकिशोर यादवले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्, तर उनी आन्तरिक तयारीमा लागेको स्रोतहरूले जनाएका छन्। दुई वर्षअघि सरकारी सेवामा कार्यरत रहँदै उनलाई अध्यक्षमा नियुक्त गरिएको थियो।

भदौ ३१ गते जनकपुरधाममा हुने उद्घाटन समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य रहनेछ। अधिवेशनमा ६५ सदस्यीय प्रदेश समिति र ९ पदाधिकारी चयन गरिनेछ। अधिवेशनका लागि ६०० प्रतिनिधि सहभागी हुने र उनीहरू भदौ २५ गतेसम्म निर्वाचन क्षेत्रीय भेलाबाट छनोट गरिनेछ।

योगेन्द्र राय यादवको उम्मेदवारीले जसपाको प्रदेश राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। उनले हालको प्रदेश नेतृत्वलाई “राजनीतिक दृष्टिले दिशाहीन“ भएको आरोप लगाउँदै आफू निर्वाचित भएमा संगठन निर्माण, वैचारिक स्पष्टता, र सशक्त नेतृत्व दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

उनको उम्मेदवारीसँगै मधेश प्रदेश अध्यक्ष पदको प्रतिस्पर्धा रोचक, रणनीतिक र निर्णायक बन्ने संकेत देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै