२२ भदौ,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी जनवरीमा लगानी सम्मेलन गर्न लागेको सन्दर्भमा उद्योगमन्त्री बसन्त कुशवाहाले महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। उनले मधेशमा १ हजार मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माणको तयारी भइरहेको बताएका छन्।
वीरगञ्जमा आयोजित उद्योगी–व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मन्त्री कुशवाहाले सम्मेलनबाटै युरिया मल उत्पादन गर्ने उद्योग, ५ सय शय्याका विशेषज्ञ सेवायुक्त अस्पतालहरू प्रत्येक जिल्लामा स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए।
उनका अनुसार शिक्षा, पर्यटन, लजिस्टिक, बिउबिजन, जैविक मल आदि क्षेत्रमा पनि वैदेशिक तथा निजी क्षेत्रको लगानी भित्र्याउने तयारी भइरहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेशमा सौर्य ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने सम्भावना प्रबल रहेको जनाउँदै, सोलार परियोजनाहरूका लागि सुरक्षाको प्रत्याभूति अनिवार्य रहेको बताए। साथै, उनले सिमरा विमानस्थलको स्तरोन्नति र त्यससँग जोडिएको भौतिक पूर्वाधार विकास अपरिहार्य भएको धारणा राखे।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार वैद्यले तीन तहको कर प्रणालीका कारण लगानीकर्ताहरू हतोत्साहित हुने गरेको उल्लेख गर्दै, कर प्रणाली सरलीकरण गर्नुपर्ने बताए। उद्योग संचालन अनुमति एकद्वार प्रणालीबाट दिने व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।
वैद्यले भारतको बिहार र उत्तर प्रदेश सरकारसँग संयुक्त पर्यटन बोर्ड गठन गरी भारतीय पर्यटक भित्र्याउने गृहकार्य थाल्नुपर्ने सुझाव दिए। साथै, वीरगञ्जलाई आर्थिक राजधानी र जनकपुरधामलाई धार्मिक राजधानी घोषणा गर्नुपर्नेमा पनि उनले जोड दिए।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले लगानी सम्मेलन सफल बनाउन निजी क्षेत्रमैत्री लगानी कानुनको अविलम्ब तयारी आवश्यक रहेको औंल्याए।















