Logo

२२ भदौ, काभ्रेपलाञ्चोक। काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा पहिलो पटक हेलि एम्बुलेन्सबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ।

सुत्केरी हुन नसकेपछि गम्भीर अवस्थामा रहेकी १९ वर्षीया आयुष्मा भ्लोनको आइतबार उद्धार गरिएको हो । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार, शनिबार बिहान १० बजेदेखि सुत्केरी व्यथा लागेकी भ्लोनलाई तालढुङ्गा स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तर, लामो व्यथा र उच्च रक्तचापका कारण उनको अवस्था बिग्रँदै गएपछि स्वास्थ्यकर्मीहरूले त्यहाँ सुत्केरी गराउन नसकिने निष्कर्ष निकालेका थिए ।

अहिले वर्षातको कारण गाउँपालिकाका सडकहरू अवरुद्ध भएकाले तत्काल अस्पताल पुर्‍याउन सम्भव थिएन। यसपछि सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरको व्यवस्था गरी उनको उद्धार गरिएको हो । यसअघि खानीखोला गाउँपालिका यो कार्यक्रममा समावेश थिएन, तर भदौ १२ गतेबाट मात्रै समावेश भएको थियो ।

उद्धार गरिएकी भ्लोनलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा पुर्‍याइएको छ। गाउँपालिका अध्यक्ष थिङका अनुसार, सुत्केरी भए पनि आमा र शिशु दुवैको अहिले आइसियुमा उपचार भइरहेको छ। यता, काभ्रेकै महाभारत गाउँपालिकामा भने अहिलेसम्म १६ जना गर्भवतीको उद्धार भइसकेको छ।


सम्बन्धित समाचार
भर्खरै