२३ भदौ,काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा विभिन्न युवाहरूले घोषणा गरेको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज विशेष सन्देश दिएका छन्।
नख्खु कारागारमा रहेका लामिछानेले आफ्ना समर्थक र सम्पूर्ण युवा पुस्तालाई विवेकपूर्ण, शान्तिपूर्ण र संयमित तरिकाले सडकमा उत्रन आग्रह गरेका हुन्। निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले युवाहरूलाई सम्भावित षड्यन्त्र र उकासाहटबाट सचेत रहन आग्रह गर्दै आफू जेलमा रहे पनि आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यबद्धता रहेको बताएका छन्।
लामिछानेले भनेका छन्, “तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ। तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ। सत्ता र शक्तिको नशामा चुर यिनीहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ।“
उनले आन्दोलनमा शान्ति, अनुशासन र विवेक कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै सम्भावित ‘घुसपैठ’ र ‘उत्तेजनापूर्ण रणनीति’ बाट बच्न अपिल गरेका छन्। “घुसपैठ हुन सक्छ, सचेत हुनुहोस्। उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस्,” भन्दै उनले प्रदर्शनलाई जिम्मेवार बनाउनेतर्फ संकेत गरेका छन्।
सन्देशमा भोलिको दिनलाई ‘इतिहासको नयाँ सुरुवात’ भन्दै लामिछानेले लेखेका छन्, “तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदैछ।”
नख्खु जेलको कालकोठरीबाट पठाइएको सन्देशमा उनले युवा पुस्ताप्रति शुभेक्षा, सद्भाव र ऐक्यबद्धता व्यक्त गरेका छन्।















