२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका जेनजी (युवा) हरूको सुविधाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको छ ।
हाल युवाहरू भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरूको यो प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन गरेका छन् । राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डहरू पनि बोकेका छन् । उनीहरूले बोकेका नाराहरूमा ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ग्कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’ र ‘स्टप करप्सन’ जस्ता रहेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले यो प्रदर्शन शान्तिपूर्ण हुने र यसमा कुनै पनि राजनीतिक दलका नेता वा कार्यकर्तालाई सहभागी नगराइने बताएका छन् । साथै, उनीहरूले सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, रुख बिरुवा नभाँच्ने र जिम्मेवार भएर प्रदर्शन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।















