Logo

२३ भदौ, काठमाडौं । भ्रष्टाचार र कुशासनविरुद्ध माइतीघरमा जेनजी युवाहरूको प्रदर्शन जारी छ। उनीहरूले विभिन्न आक्रोशपूर्ण नाराहरू लेखिएका प्लेकार्डहरू बोकेर सरकारलाई खबरदारी गरिरहेका छन् ।

केहीबेर अघिदेखि सुरु भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य’ ‘हामीलाई सहायता दिने नेता चाहिएको छ, आफूलाई पोस्ने नेता होइन’ लगायतको नारामा लगाएका छन् । साथै उनीहरुले ‘अति भयो झुट, अति भयो माफी’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ ‘हामीले तिरेको कर कहाँ छ? भन्दै नेताहरूलाई प्रश्न गरेका छन् । साथै, उनीहरूले ‘लोभी नेताहरूलाई थप नपोसौँ’ भन्दै जनसाधारणलाई आह्वान गरेका छन् ।

प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक प्रणालीप्रति पनि असन्तुष्टि जनाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गरेका छन्, जसले राजनीतिक प्रणालीमा आमूल परिवर्तनको आवश्यकतालाई औँल्याएको छ। सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’ (सन् १९९७–२०१२ सम्म जन्मिएको पुस्ता) को विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ । सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन् । यो आन्दोलनले कस्तो रूप लेला र सरकारले कस्तो प्रतिक्रिया जनाउला? त्यो हेर्न बाँकी छ ।

 


सम्बन्धित समाचार