२३ भदौ, काठमाडौं । पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्माका अनुसार विगत डेढ महिनाको अवधिमा तीन वृद्ध पुरुषहरूको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरूमा बर्दघाट नगरपालिका–१२ का ७४ वर्षीय, सरावल गाउँपालिका–१ का ६२ वर्षीय र प्रतापपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुष रहेका छन् । उनीहरूले संक्रमणविरुद्धको खोप लगाएका थिएनन् ।
यसैगरी, जिल्लामा डेंगी संक्रमण पनि बढिरहेको छ। लामखुट्टेको टोकाइबाट अहिलेसम्म नौ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। सरसफाइको अभावले संक्रमण तीव्र गतिमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जापानिज इन्सेफ्लाइटिस र डेंगीको जोखिमलाई ध्यानमा राख्दै, स्थानीय तहहरूले लामखुट्टे नियन्त्रण र रोग रोकथामका लागि जनचेतना फैलाउने काम गरिरहेका छन्।















