२३ भदौ,काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जारी जेनजी पुस्ताको आन्दोलन आज साँझ नयाँ उचाइमा पुगेको छ। प्रदर्शनकारीहरूले संघीय संसद भवनको २ नम्बर गेटमा आगजनी गरेका छन्।
आन्दोलन उग्र बनेपछि सरकारले संसद भवन आसपासका क्षेत्रहरूमा कफ्र्यू आदेश जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा रबरको गोली चलाइएको छ भने अश्रुग्यास पनि व्यापक प्रयोग गरिएको छ।
गेटको पर्खाल भत्काएर आगजनी
जेनजी प्रदर्शनकारीहरूले संसद भवनको २ नम्बर गेटमा रहेको पर्खाल ढुंगामुढा गर्दै भत्काएका थिए। त्यसपछि उनीहरूले गेटमा आगजनी गरेका हुन्। घटनास्थलमा धुवाँको मुस्लो उठिरहेको र प्रहरीले आगो नियन्त्रण प्रयास गरिरहेको दृश्य देखिएको छ।
रबरको गोली प्रयोग, अवस्था तनावपूर्ण
सुरक्षा अधिकारीका अनुसार भीडलाई तितरबितर पार्न घुँडामुनि रबरको गोली प्रहार गरिएको हो। यद्यपि, केही प्रदर्शनकारी घाइते भएको आशंका गरिएको छ भने यससम्बन्धी विवरण आउन बाँकी छ।
कफ्र्यू आदेश जारी
प्रदर्शन नियन्त्रण गर्न प्रशासनले संसद भवन वरपरका क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ। भीड नियन्त्रणका लागि नेपाली सेना समेत तयारी अवस्थामा राखिएको स्रोतको दाबी छ।
शुरुमा शान्तिपूर्ण ढंगमा अघि बढेको जेनजी आन्दोलन अहिले आक्रोशपूर्ण रूप लिन थालेको देखिएको छ। प्रदर्शनकारीहरूले सरकारको तर्फबाट सुनुवाइ नहुँदा आक्रोशित भई प्रत्यक्ष सत्ताकेन्द्रतर्फ मोडिएको बताएका छन्।















