Logo

२३ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेनजी (युवा) हरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । प्रदर्शन उग्र बनेपछि प्रहरीले नियन्त्रणमा लिन यो कदम चालेको हो ।

दमक चोकबाट जुलुससहित दमक नगरपालिकाअगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। स्थानीयका अनुसार प्रहरीको गोली लागेर झापा, कमल–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

प्रदर्शनकारीले नगरपालिका परिसरमा रहेका केही मोटरसाइकलमा आगजनी गर्नुका साथै सीसी क्यामेरा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले स्थिति नियन्त्रण बाहिर गएपछि ‘हवाई फायर’ गरिएको जानकारी प्राप्त भएको बताएका छन्। थप सुरक्षा टोली घटनास्थलमा पठाइएको र अवस्था यकिन गर्ने काम भइरहेको उनले जानकारी दिए ।

 


सम्बन्धित समाचार