Logo

२३ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनको क्रममा घाइते भएका प्रदर्शनकारीहरूको उपचारमा सहयोग गर्ने घोषणा गरेको छ।

सोमबार काठमाडौंमा हजारौं जेन–जी युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका थिए।

सिभिल अस्पताल, बानेश्वर र राष्ट्रिय ट्रमा सेन्टर, महाकालमा घाइतेहरूको चाप अत्यधिक बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीको टोली अस्पतालहरूमा पुगेर घाइतेहरूको उद्धार र आपत्कालीन सहयोग गरिरहेको छ। उनले उपचारका लागि सिभिल र ट्रमा अस्पतालमा ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान पनि नगर प्रहरी खटिने जानकारी दिए।

प्रदर्शनका क्रममा हालसम्म ८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। तीमध्ये पाँच जनाको राष्ट्रिय ट्रमा सेन्टर, दुई जनाको सिभिल अस्पताल र एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

यता, प्रशासनले बानेश्वर, मध्यबानेश्वर, माइतीघर र शंखमुख क्षेत्रमा कफ्र्यू आदेश जारी गरे पनि प्रदर्शनकारीहरूले अवज्ञा गर्दै आन्दोलन जारी राखेका छन्। हाल पनि माइतीघर, बानेश्वर र तिनकुने क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारीहरूको उपस्थिति रहेको छ।

अहिलेसम्मको अवस्था हेर्दा राजधानीमा स्थिति तनावपूर्ण छ। थप भिडन्त र हिंसात्मक घटना रोक्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ।
विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै