२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनप्रति सरकारको प्रतिक्रिया गम्भीर रूपमा असफल भएको बताएका छन्।
अनलाइनखबरसँग कुरा गर्दै शर्माले सरकारले परिस्थितिको सही मूल्याङ्कन गर्न नसकेर गम्भीर गल्ती गरेको उल्लेख गरे। उनले जेन–जी पुस्ताको आवेग बुझ्नु सरकारको प्राथमिक दायित्व भएको भन्दै, “जुनसुकै आमाले जन्माएको भए पनि सबै जेन–जी हाम्रा छोराछोरी हुन्,“ भनेर भावुक टिप्पणी गरे।
हालसम्म आन्दोलनमा मृत्यु हुनेको संख्या ८ पुगेको समाचारप्रति प्रतिक्रिया दिँदै उनले आफू “स्तब्ध“ भएको बताएका छन्।
शर्माले अहिले सरकारलाई एक कदम पछाडि हटेर परिस्थिति सम्हाल्न आग्रह गर्दै भने, “सरकारले अब केवल आफ्नो विश्वास थोपरेर हुँदैन, नागरिकको विश्वास पनि जित्नुपर्छ।“
उनले जेन–जी पुस्ताको माग र भावना प्रति संवेदनशील हुनुपर्ने र अब ढिलो नगरी सम्वाद र समाधानको बाटो रोज्नुपर्ने धारणा राखेका छन्।
शर्माको टिप्पणी यस्तो अवस्थामा आएको हो जब राजधानीमा आन्दोलन झनै चर्किदै गएको छ र कफ्र्यू आदेशको बाबजुद प्रदर्शनहरू जारी छन्।
सरकारको तर्फबाट भने औपचारिक वार्ता वा सम्बोधन अझैसम्म सार्वजनिक भएको छैन।















