२३ भदौ, काठमाडौं । देशका विभिन्न स्थानमा जेनजी ९युवा० ले गरेको प्रदर्शनका कारण उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले आकस्मिक बैठक बोलाएको छ।
गोरखाको भीमसेन थापा गाउँपालिका–३ मा बसेको बैठकले आफ्नो ‘जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान’ पनि स्थगित गर्ने निर्णय गरेको छ। पार्टीले जेनजीको प्रदर्शनका क्रममा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै, प्रहरीको गोली लागेर ज्यान गुमाउने युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
माओवादी केन्द्रले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। साथै, पार्टीले स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न पनि जोड दिएको छ। यस विषयमा थप छलफलका लागि भोलि काठमाडौंमा पार्टीको पूर्ण पदाधिकारी बैठक बोलाइएको छ।















