Logo

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले जेनजीको प्रदर्शनमा भएको दमन र १७ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले ’युवाहरूको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ’ भन्दै यदि उनले राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने माग गरेका छन् ।

यसैगरी, नेविसंघकी पूर्व नेता एलिजा ढकालले पनि गृहमन्त्री लेखकलाई ’नालायक’ को संज्ञा दिँदै राजीनामा माग गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ’तानाशाही’ भन्दै कांग्रेस सरकारबाट तत्काल बाहिरिनुपर्ने विचार व्यक्त गरेकी छन् ।

ढकालले कुनै भवनको सुरक्षा मानिसको ज्यानभन्दा महत्त्वपूर्ण नभएको भन्दै सरकारको यो कदमले ’कालो इतिहास’ लेखिएको बताएकी छन् । उनले ’रगतको धब्बा लागेको सरकार’ बाट कांग्रेस बाहिरिनुपर्नेमा जोड दिएकी छन् ।

अर्का नेता वृतान्त खनालले पनि सरकारबाट कांग्रेस तत्काल बाहिरिनुपर्ने माग गरेका छन् । उनले सरकारले यो विषयलाई अझै बेवास्ता गरे पार्टीभित्रै आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् ।

यस्तै, नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई ’अपराधी’ को संज्ञा दिँदै यसको साक्षी बस्नेहरू पनि ’अपराधी’ नै भएको बताएका छन् । उनले यो आन्दोलन जेन जीहरूको मात्र नभई सबैको भएको भन्दै आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाएका छन् ।


सम्बन्धित समाचार
भर्खरै