Logo

२३ भदौ, झापा । काठमाडौंमा प्रहरी दमनबाट १६ जनाको मृत्यु भएपछि देशभर फैलिएको जेन–जी आन्दोलन झापामा पनि चर्किएको छ। झापाको विर्तामोड नगरपालिका अगाडि स्थिति तनावपूर्ण बनेको छ।

आक्रोशित प्रदर्शनकारीहरूले नगरपालिकामा ढुंगामुढा गरेका छन्। स्थिति बेकाबु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी राजन लिम्बुले पुष्टि गरेका छन्।

यता, स्थानीयले भने केही प्रदर्शनकारी प्रहरीको गोलीबाट घाइते भएको बताएका छन्। घाइतेहरूलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको जनाइएको छ।

यसअघि झापाकै दमकमा भएको प्रदर्शनमा पनि प्रहरीको गोली लागेर केही विद्यार्थी घाइते भएका थिए। कम्तीमा ३ जनाको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रदर्शनकारीहरू राजधानी काठमाडौंमा भएको प्रहरी दमन र मृत्युको घटनाले आक्रोशित हुँदै स्थानीय तहहरूमा विरोध प्रदर्शनमा उत्रिएका हुन्। झापामा स्थिति अझै तनावपूर्ण रहेको र थप भिडन्तको आशंका गरिएको छ।

सुरक्षा निकाय सतर्क अवस्थामा छन् भने प्रशासनले परिस्थिति नियालिरहेको जनाएको छ।
विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै