Logo

२३ भदौ, विराटनगर । सुनसरीको इटहरीमा जेन–जी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु भएको छ। मृतकको अहिलेसम्म पहिचान खुलेको छैन तर उनीहरू २५ र ३० वर्षका युवा रहेको प्रहरीले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका ती युवाहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। गोली लागेका अर्का एक प्रदर्शनकारीको उपचार जारी रहेको बताइएको छ।

घटनामा सशस्त्र प्रहरीका एक सहायक हवल्दार पनि घाइते भएका छन्। उनको गालामा चोट लागेको प्रहरीले जनाएको छ।

इटहरीमा आज बिहानैदेखि उत्तेजित प्रदर्शनकारीहरूले उपमहानगरपालिका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। तर प्रदर्शनकारी नहटेपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने कफ्र्यू आदेशको उल्लंघन गर्दै प्रदर्शन जारी राखिएकाले स्थिति नियन्त्रणका लागि बल प्रयोग गरिएको जानकारी दिए। यद्यपि उनले मृत्युको पुष्टि गर्न नमाने पनि केही घाइते भएको सूचना आएको बताए।

घटनापछि इटहरी क्षेत्रमा स्थिति थप तनावपूर्ण बनेको छ। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिका बीच प्रदर्शन अझै नियन्त्रणमा आउन सकेको छैन।विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै